दृष्टिविहीनले पहिचान गर्न मिल्ने १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने « Arthapath.com
२३ फाल्गुन २०७८, सोमबार

दृष्टिविहीनले पहिचान गर्न मिल्ने १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने



काठमाडौं । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको १ रुपैयाँ दरको सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउने भएको छ ।

राष्ट्र बैंकले प्रचलनमा ल्याउने सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको हुनेछ ।

नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ ।

आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्