बैंकहरुले ब्याज बढाउँदा २२ अर्ब रुपैयाँ बढ्यो निक्षेप, सिडी रेसियो ९०.९९ प्रतिशत

काठमाडौं । एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि निक्षेप संकलन पनि बढेको हो ।
फागुन महिनामा बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँ बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । माघ मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुन मसान्तसम्ममा २२ अर्ब रुपैयाँ बढाएर ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । ४ दिनको अवधिमा ७ अर्ब निक्षेप बढेको छ । फागुन २७ गते ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यता एक महिनाको अवधिमा भने बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले फागुन मसान्तसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । ४ दिनको अवधिमा ३ खर्ब कर्जा वितण गरेका छन् । फागुन २७ गतेसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको सिडी रेसियो ९०.९९ प्रतिशत पुगेको छ ।