राष्ट्र बैंकले पुनरकर्जा ब्याजदर बढाएर ७ प्रतिशत पुर्यायो « Arthapath.com
८ चैत्र २०७८, मंगलवार

राष्ट्र बैंकले पुनरकर्जा ब्याजदर बढाएर ७ प्रतिशत पुर्यायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा दरलाई ७ प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार पुनरकर्जा कार्यविधि २०७८ को चौथो शंसोधनमार्फत ७ प्रतिशत ब्याजदर कायम गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा दिइरहेको पुनरकर्जालाई ७ प्रतिशत बनाउने घोषणा मौद्रिक नीतिको मध्यावधी समीक्षामा गरेको थियो ।

राष्ट्र बैंकले साधारण पुनरकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट ७ प्रतिशत लिन सक्ने व्यवस्था गरेको हो । बैंकहरुले राष्ट्र बैंकबाट भने ५ प्रतिशतमा पाउने छन् ।

बैंकका ग्राहकहरुले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा ७ प्रतिशत, विशेष पुनरकर्जामा ५ प्रतिशत र साधारण पुनरकर्जा अन्तर्गत ७ प्रतिशत व्याज लिन पाउने छन् । बैंकहरुले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा राष्ट्र बैंकमार्फत् ४ प्रतिशत, विशेष पुनरकर्जामा २ प्रतिशत र साधारण पुनरकर्जा अन्तर्गत ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउनेछन् ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँको हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने राष्ट्र बैंकले जनाएको छ । ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन् ।


प्रतिक्रिया दिनुहोस्