नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ । भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

भारतमा विजुली महंगो भएकोले प्राधिकरणले पनि महँगोमा विजुली किन्नु पर्ने उनले बताए । नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएपछि भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको उनको भनाई छ ।

२० भारुमा विजुली किन्दा नेपालले तिर्नुपर्ने रकम प्रतियुनिट ३८ रुपैयाँसम्म पर्न जाने प्रवक्ता भट्टराईले बताए । ‘आजदेखि २० भारतिय रुपैयाँ त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं’ प्रवक्ता भट्टराईले भने ।

नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईले बताए ।

‘हामीले १५ रुपैयाँ २७ पैसा भारुमा (करिब २८ रुपैयाँ) बिड गर्दा पनि विद्युत पाउन नसकेको प्राधिकरणले जनाएको छ । उक्त मूल्यमा विद्युत् पाउने भएपछि औद्योगिक क्षेत्रमा पनि नियमित आपूर्ति हुने छ ।

विगत तीन दिनयता भारतबाट विद्युत आपूर्ति नहुँदा वितरणमा समस्या उत्पन्न भएको प्राधिकरणको भनाई छ । भारतीय बजारमा विद्युतको माग उच्च हुँदा मूल्य बढेपछि प्राधिकरणले विद्युत नपाएको हो ।


प्रतिक्रिया दिनुहोस्