११ श्रावण २०८३, सोमबार

वडाअध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वडाअध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । वडाअध्यक्ष सहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, सर्केगाड गाउँपालिकाका तत्कालीन लेखापाल सुरत बहादुर रेश्मीसमेतले आफू वा अन्य व्यक्तिलाई लाभ र नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको, बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुको साथै भुक्तानीसमेत गरी नेपाल सरकारलाई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई ८ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

उक्त कार्यमा संलग्न वडाध्यक्ष गज बहादुर रावत, स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत वहादुर रेश्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा ८ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैद तथा खुल्न आएको विगो प्रतिवादीहरूबाट असुल उपर गरी बिगोबमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तिायरले जनाएको छ ।