सूर्योदय वोमी लघुवित्तको सीईओमा मोक्ष प्रसाद पंगेनी र अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान

काठमाडौं । चैत्र १९ गतेदखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । एकीकृत कारोबारपश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मोक्ष प्रसाद पंगेनीलाई नियुक्त गरेको छ ।
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच हिजो शनिवार एकीकृत कारोबार शुरु भएको थियो । एकीकृत कारोबारपश्चात सञ्चालक समितिको बैठकले पंगेनीलाई चैत १९ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पंगेनी तत्कालिन सूर्याेदय लघुवित्त वित्तीय संस्थाका सीईओ समेत हुन् ।
त्यस्तै, लघुवित्तको सोही बैठकले तत्कालीन वोमी लघुवित्तका सीईओ प्रमेश आचार्यलाई सूर्योदय वोमी लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनी कम्पनी सचिव समेत रहेका छन् ।
त्यस्तै, लघुवित्तको अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान बनेकी छिन् । यसअघि तत्कालिन वोमी लघुवित्तको अध्यक्ष समेत रहेकी विन्दिया श्रेष्ठ प्रधानलाई सूर्याेदय वोमी लघुवित्तको अध्यक्षमा नियुक्त गरेको हो ।
सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको वागमती प्रदेश काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १३, साँगामा रहने छ । मर्जपछि दोस्रो बजारमा कारोबार खुला गर्नका लागि लघुवित्तले प्रकृया अगाढि बढाइसेको छ ।
दुवै संस्था १ः१ स्वाप रेशियोमा मर्ज भएका हुन् । वोमी लघुवित्तको १०० कित्ता शेयर बराबर सूर्योदय लघुवित्तको १०० कित्ता शेयर आदान प्रदान अनुपात कायम गरिएको छ । सूर्योदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुगेको छ । मर्जर पश्चात सूर्योदय वोमी लघुवित्तमा कर्मचारी संख्या १ हजार भन्दा धेरै हुनेछन् भने शाखा १९१ वाट पुग्ने छन् ।