राष्ट्र बैंकमा कर्मचारीको आन्दोलन, गभर्नर निलम्बन गर्ने निर्णय फिर्ता लिन चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन गरेका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर अधिकारीलाई निलम्बन गरिएको निर्णय फिर्ता लिन भन्दै विरोध गरेका हुन् ।
राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै संघले आइतबार राष्ट्र बैंकमा कालो ब्यानर झुन्ड्याएर विरोध गरेको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर टाँसी कर्मचारी संघले कोणसभा गरेको थियो ।
संघले केन्द्रीय बैंकको स्वयत्ततामाथिको हस्तक्षेप बन्द गर, गभर्नरमाथि लागेको निराधार आरोप फिर्ता गर, संकट उन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर भन्नेजस्ता नारा लगाएका थिए ।
‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नांगो हस्तक्षेप बन्द गर’, ‘अधिकारीमाथि गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर’ भन्ने नारासहित कार्यालयको मुख्य भवन अघि कालो ब्यानर टाँगिएको छ ।
संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्यका सञ्चालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरूको चंगुलमा फस्दा राष्ट्र बैंकको नेतत्व माथि आक्रमण हुने गरेको बताए । सरकारले गत चैत्र २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो ।