अर्थतन्त्र दबाबमा परेकाले सवारी आयातमा कडाइ गरिएको होः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्मासँग नाडा प्रतिनिधि मण्डलले भेट गरेको छ । बैशाख ४ गते, नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ मन्त्री जनार्दन शर्मासँग भेट गरेको हो ।
अर्थमन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नअत्तालिन सुझाव दिए । ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो’ उनले भने, ‘निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।’
अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको उनको भनाई छ । अर्थतन्त्रका बारेमा भएको राजनीतिकरण गलत भएको बताउँदै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पारेका थिए ।
उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दै ३ खर्ब ५० अर्ब भन्दा बढीको लगानी रहेको, हरेक बर्स १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए । थापाले प्रतीतपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरूले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए ।
उनले काठमाण्डौमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरूको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गरि दिनु उनले माग गरेका छन् ।
उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरूको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरूबारे मन्त्रीलाई सचेत गराएका थिए । अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे ।
महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोबाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गरि दिन माग गरेका थिए । छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।