११ श्रावण २०८३, सोमबार

नेकपा एसको निर्वाचन घोषणा पत्रमा नेपाली रक्सीलाई ब्रान्डिङ बनाइने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

उक्त घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुका कारण उल्लेख गरेका छन् । घोषणा पत्रमा माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेलामा गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।

उक्त घोषणा पत्रमा नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने उल्लेख गरेका छन् । उक्त घोषणा पत्रमा नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने उल्लेख गरेका छन् । संसारका अरु देशले स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गरेकाले नेपाली मदिरालाई पनि ब्रान्ड बनाउने घोषणा पत्रमा उल्लेख छ ।

‘संसारका अरु देशले स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गरेका छन् । यसबाट हामीले सिक्न जरुरी छ । नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेको देखिन्छ । यसैले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु आवश्यक छ ।’ घोषणा पत्रमा भनिएको छ, ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक हुने उल्लेख छ । यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाईने घोषणा पत्रमा उल्लेख गरिएको छ । उक्त कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने विश्वास लिएको छ ।’