गभर्नर अधिकारीको मुद्दामा आज सुनवाई हुँदै, आजै फैसला आउन सक्ने !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाई हुने भएको छ । बिहीबार सरकारी पक्षका वकिलहरुले बहस गरेका थिए । तर बहस नसकिएपछि शुक्रबार पुनः बहस हुनेछ । बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राख्दै शुक्रबार लागि पेशि तोकिएको थियो ।
यसअघि गत बंगलबार बहस भएको थियो । मंगलबार बहस नसकिएपछि बिहीबारका लागि बोलाईएको थियो । तर बिहीबार पनि बहस नसकिएपछि फेरि शुक्रबारका लागि पुनः बोलाइएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । दुवै पक्षका वकिलहरुको बहस अन्तिम चरणमा रहेकाले शुक्रबार सर्वोच्च अदालतले फैसला घोषणा गर्न सक्ने अनुमान छ । उक्त मुद्धा न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।
यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाई गर्दै अन्तरकालिन आदेश जारी गरेको थियो । सरकारको निर्णयविरुद्ध गत वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै उनले रिट दायर गरेका थिए । चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।