१२ श्रावण २०८३, मंगलबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट निर्जीवन व्यवसाय गर्ने, स्वाप रेसियो १००ः८५ रुपैयाँ तय



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच हुने मर्जर प्रक्रियामा स्वाप रेसियो तय गरिएको छ । मर्जर प्रयोजनका लागि गरिएको डीडीआर अनुसार १००ः८५ रुपैयाँको स्वाप तय गरिएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस्, चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको चल–अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको हो ।

उक्त स्वाप रेसियो अुनसार एभरेष्ट इन्सोरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता (१ः०.८५) शेयर प्रदान गर्ने गरि गाभ्ने–गाभिने (मर्ज) हुने भएका हुन् । साथै मर्जर पश्चात् कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन व्यवसाय गर्ने सम्झौता भएको हो ।

साथै मर्जरपश्चात् बन्ने कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा रहने भएको छ । मर्जरपछि नयाँ संचालक समिति चयन हुने छ भने हाल रहेका सबै संचालकको कार्यकाल सकिनेछ ।

साथै यी लगायतका प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएका छन् । दुवै कम्पनीले आषाढ २ गते बिहिबार विशेष साधारणसभा बोलाएका हुन् ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ ।