गाउँगाउँसम्म पुगेर पूँजीबजार सम्बन्धी ज्ञान र वित्तीय साक्षरता दिन अर्थमन्त्रीको निर्देशन
पूँजी बजार अध्ययनका लागि समिति गठन
काठमाडौं । पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन् । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
‘पूँजी बजारमा देखिएका विविध समस्यालाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आजै मात्रै ४ सदस्यीय सुझाव समिति गठन गरेका छौं’ उनले भन । बुधबार बिहान मन्त्रालयमा भएको छलफलपछि धितोपत्र बोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक/एक प्रतिनिधि तथा बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति बनाइएको हो । सो अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पुँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।
अर्थमन्त्री शर्माले पुँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराए । आगामी आवको बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरीवेक्षणको विषयहरू उल्लेख छन् ।
धितोपत्रको दोस्रो बजारमा गैरआवासिय नेपालीलाई लगानी खुल्ला गर्न कानूनी व्यवस्था गर्ने, बैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने, १ अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काश गर्ने गरी सूचीकृत हुन लगाउने लगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।
उनले पूँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए । उनले पूँजी बजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरुलाई निर्देशन पनि दिए । ‘पूँजीबजार सम्बन्धि ज्ञान र वित्तीय साक्षरता हुनुपर्यो । तालिम दिन जनशक्ती परिचालन गर्नुपर्यो’ उनले भने, ‘अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पूँजी बजारका बारेमा बुझाउने कुरामा कमी भएको छ ।’
पूँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधा गर्नुपर्ने, नविन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार संचालन हुनुपर्नेलगायतका बिषयमा उनले जोड दिए ।













