बैंक तथा वित्त कम्पनीले असारमा ब्याजदर नबढाउने, अध्यक्षहरु भन्छन् ‘ब्याजदर बढाएर निक्षेपमा उपलब्धि भएन’ « Arthapath.com
२९ जेष्ठ २०७९, आईतवार

बैंक तथा वित्त कम्पनीले असारमा ब्याजदर नबढाउने, अध्यक्षहरु भन्छन् ‘ब्याजदर बढाएर निक्षेपमा उपलब्धि भएन’



काठमाडौं । असार महिनामा बैंक तथा वित्त कम्पनीहरुले ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाएर मात्रै निक्षेप संकलन नहुने भन्दै असार महिनामा पनि जेठ महिनाको ब्याजदर कायम राख्ने भएका हुन् ।

बैंकहरूले असार महिनामा पनि ब्याजदर नबढाएर जेठ महिनाको ब्याजदर नै यथावत राख्ने सहमति भएको छ । ब्याजदर बढाउँदा खर्च अर्थात लागत मात्रै बढ्ने भएकाले यथावत राख्ने सहमति भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले अर्थपथलाई जानकारी दिए । ‘आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पनि आएको छ । मौद्रिक नीति पनि सार्वजनिक गर्ने समय आएको छ । आगामी दिनमा विश्लेषण गरेर निर्णय गर्ने भन्ने सहमति भएको छ । उनले भने, ‘स्रोत पनि बढेको छैन् । ब्याजदर बढाएर मात्रै लागत बढ्छ ।’

ब्याजदर सम्बन्धी निर्णय गर्न डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको बैठक भोलि सोमबार बस्ने भएको छ । ब्याजदर बढाउने वा नबढाउने भन्ने बारे सोमबार निर्णय गर्ने एक बैंकका सीईओले अर्थपथलाई जानकारी दिए । ब्याजदर बढाएर खासै उपलब्धि नभएकाले असारमा ब्याजदर नबढ्ने उनको भनाई छ ।

यता नेपाल वित्तीय संस्था संघले ब्याजदर सम्वन्धी निर्णय गर्न सोमबार बैठक बोलाएको अध्यक्ष सरोजकाजी तुलाधरले जानकारी दिए । ब्याजदर बढाउँदा निक्षेप वृद्धि नभएकाले ब्याजदर नबढन् सक्ने उनले बताए । लागत मात्रै बढेको तर निक्षेप संकलनमा खासै वृद्धि नभएको अध्यक्ष तुलाधरले बताए ।

हाल वाणिज्य बैंकहरुले ११.०३ प्रतिशत, विकास बैंकहरुले १२ प्रतिशत र फाइनान्स कम्पनीहरुले १२.१५ प्रतिशत ब्याज दिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्