रिलायन्स लाइफको मेरो सुनिश्चित प्रतिफल बीमा योजना सार्वजनिक, बोनसको झन्झट लिनै नपर्ने

काठमाडौं । रिलायन्स लाइफइन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको उक्त बीमा योजना आजदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए ।
उक्त बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमा शुल्क भुक्तानी गर्न सक्नेछन । साथै सिमित समयको लागि बीमा शुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । उक्त योजनाले अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीले दाबी गरेको छ ।
रिलायन्स लाइफको पहिलो उद्देश्य ‘उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ अनुरुप ‘मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट भएको दाबी सीईओ पोखरेलले गरे ।
उक्त बीमा योजनामा १६ वर्ष अवधिको बीमा लेखमा आधारभुत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमा लेखमा आधारभुत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टी रहेको कम्पनीले जनाएको छ । बीमा लेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
बीमा योजनाको विशेषताहरुः
- यस योजनाको १६ वर्षको बीमा लेखमा आधारभूत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमा लेखमा आधारभूत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ । अन्य बीमा गराउँदा बीमाङ्क रकमअनुसार बीमा शुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमा शुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ ।
- बीमा अवधिभन्दा कम समय बीमा शुल्क भुक्तानी गरि ढुक्क हुन सकिन्छ ।
- बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।
मृत्यु भएमाः
- यदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमा शुल्कको न्युनतम २ गुणा देखी अधिकतम २.५ गुणा सम्म रकम भुक्तान गरिनेछ ।
- यो बीमा योजाना, १६ वर्षदेखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ ।
- यो बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ ।
- यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमा शुल्क तिरे पुग्ने छ ।
- यो बीमा योजना अन्तर्गत बीमा शुल्क भुक्तानी वार्षिक हुनेछ ।
अतिरिक्त सुविधाहरुः
माथि उल्लेख गरिएको सुविधाहरुका अतिरिक्त यस बीमा लेखमा न्युन थप बीमा शुल्क तिरेर अतिरिक्त पुरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ ।
कर्जा सुविधाः
बिमितले यस बीमा योजनामा सहभागी भएको ३ बर्ष अवधि पुरा भइ ३ वर्षको बीमा शुल्क तिरी सकेपछि सो बीमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशत सम्म ऋण लिन पनि सक्नेछन् ।
योग्यताः
यो बीमा योजनामा सहभागी हुनको लागि न्युनतम बीमा शुल्क २५ हजार रुपैयाँ रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमता मानिर्भर रहेनछ । न्युनतम र अधिकतम बीमाङ्क रकम भने बीमा शुल्कको आधारमा तय हुनेछ । उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि १ लाख रुपैंया वार्षिक बीमा शुल्क ७ वर्षसम्म ७ लाख रुपैयाँ तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमा शुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । थप न्युन बीमा शुल्क १४ हजार ८४० तिरेर अतिरिक्त पुरक करार सूविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउने छन् ।
यस योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि योजना अतिआकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।