ज्योति लाइफ र सूर्या लाइफको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले दोस्रो बजारमा दुई कम्पनीको शेयर रोक्का गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीकोबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार रोक्का भएको हो ।
आइतबार दुवै कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरमा जाने सहमति गरेका कम्पनीले धितोपत्रको कारोबार रोक्का राख्नका लागि नेप्सेमा निवेदन दिएकाले असार १३ गते देखि लागू हुने गरी उक्त कम्पनीहरुको धितोपत्र कारोबार रोक्का राखेको हो ।
ज्योती र सुर्या लाइफको मर्जर प्रश्चात २ कम्पनीको चुक्ता पुँजी करिव ५ अर्व पुग्ने बताइएको छ । हाल सुर्या लाइफको २ अर्व ५५ करोड र ज्योती लाइफको २ अर्व ४२ करोड रहेको छ । ज्योतीको १०० कित्ता बराबर सुर्या लाइफले ८० कित्ता हुनेछ । सुर्या लाइफमा बिशाल ग्रुपको करिव २५ प्रतिसत लगानी रहेको छ भने ज्योतीमा १० प्रतिसतभन्दा कम रहेको छ । क्रस होल्डिङको आधारमा यी संस्था मर्ज हुन लागेका हुन् ।
