रिलायबल नेपाल लाइफको खुद नाफा साढे २७ करोड रुपैयाँ, एक वर्षमा झण्डै ४ अर्ब कुल बीमाशुल्क आर्जन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा २१.६५ प्रतिशतले बढेर २७ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्स कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन ३१ प्रतिशतले बढेर ३ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ३ अर्ब १ करोड रूपैयाँभन्दा बढी मात्र कुल बीमाुशल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको कुल दाबी भुक्तानी रकम ५६ दशमलव ५१ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ७५ करोड ५ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो ।
कम्पनीको आम्दानी अघिल्लो वर्षभन्दा ३६ दशमलव ३६ प्रतिशत बढी ४० करोड ९५ लाख रूपैयाँ रहेको छ भने जम्मा खर्च ८० दशमलव ९१ प्रतिशत बढी १३ करोड ४६ लाख रूपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ,े खुद बीमा शुल्क आर्जन २७.४२ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ, जगेडा कोष रकम २९ दशमलव ३३ प्रतिशत बढेर १ अर्ब ९ करोड रूपैयाँ, जीवन बीमा कोष रकम ७८ दशमलव १३ प्रतिशत बढेर ४ अर्ब ६० करोड रूपैयाँ, बीमालेख धितोको कर्जा १३५ दशमलव ८३ प्रतिशतले १४ करोड ८१ लाख रूपैयाँ आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।