कोरोना बीमा दावी रकम भुक्तानीका लागि दुई विकल्प, समितिले थाल्यो यस्तो तयारी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कोरोना बीमा दावी रकम भुक्तानीका लागि दुई विकल्प, समितिले थाल्यो यस्तो तयारी



काठमाडौं । बीमा समितिले कोरोना बीमा दावी भुक्तानीका लागि दुई विकल्प अघि सारेको छ । समितिले, अर्थमन्त्रालय र बीमक संघबीचको विभिन्न चरणमा भएको छलफलले दुई वटा उत्तम विकल्प अघि सारेको हो ।

समिति र सरोकारवाला बीच भएको छलफले राष्ट्रसेवक कर्मचारीहरुको बीमा सरकारको स्वामित्वमा भएको राष्ट्रिय बीमाकम्पनीको भएको हुँदा सोही कम्पनीबाट दावी भुक्तानी गर्ने व्यवस्था मिलाउने विकल्प निकालेको हो । सरकारले तिर्नुपर्ने दायित्व्को समयावधी सरकारले नै तोकि भुक्तानी गर्न निर्देशन दिने विकल्प रहेको समितिले जनाएको छ ।

यस्तै, कुल भुक्तानी हुँन बाँकी रकम ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार बढी रकम सरकारले ५५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत, बीमा कम्पनीहरुले २५ प्रतिशत र बीमा समितिले ८ प्रतिशतका दरमा बाँडफाँड गरि भुक्तानी गर्ने विकल्प निकालिएको हो ।

यी दुवै विकल्पसहित बीमा समितिले भने तिहार अघि नै कोरोना बीमा दावी भुक्तानीको तयारीमा झुटेको छ । सरकारले कोरोना बीमाका लागि रकम बीमा समितिको खातामा जम्मा गरिदिएको छ ।

अघिल्लो महिना बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना बीमाका लागि १ अर्ब रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । सो रकम समितिको खातामा जम्मा भएको हो । तर, बीमा समिति, नेपाल पुनर्बीमा तथा बीमा कम्पनीहरुले मिलेर थप १ अर्ब थप्ने तयारी भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनका अनुसार थप १ अर्ब जुटाई २ अर्ब पुर्याउने गरि छलफल भएको हो । हाललाई सर्वसाधारणलाई मात्रै भुक्तानी गर्ने तयारी भएको निर्देशक पौडेलले जानकारी दिए । उनले भने,-“पहिला आवेदनको आधारमा बीमा समितिले नै भुक्तानी पाउनेको नाम सर्वाजनिक गर्नेछ । सोहीअनुसार बीमितले भुक्तानी पाउनेछन, अर्थ मन्त्रालयले अनौपचारिक रुपमा त्यही अनुसार नै भुक्तानी गर्न भनेको छ ।”

थप रकम जुटाएर तिहार अघि नै भुक्तानी गर्ने योजना रहेको पौडेलले बताए । उनले भने,– “सरकारबाट १ अर्ब मात्रै रकम आएको छ । यो अपुग हो, पहिलो आउनेलाई पहिला दिने आधारमा भुक्तानी दिने कुरा पनि चलिरहेको छ, रकम नभएपछि केही मापदण्ड बनाउनुपर्ने पनि देखिएको छ ।”


प्रतिक्रिया दिनुहोस्