बाढी बीमाले पश्चिम तराईका किसान लाभान्वित, तीन महिनामा ९ लाख प्रिमियम, ३५ लाख दाबी

शिखर इन्स्योरेन्सको बाढी बीमा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘मौसम सूचकाङ्कमा आधारित बाढी बीमा’मा बीमाशुल्क भन्दा तेब्बर दाबी भुक्तानी गरेको छ । कम्पनीले नदी तटीय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानी जोखिम रक्ष वरण गर्न नेपालमै पहिलो पटक उक्त बीमा लेखा जारी गरेको थियो । कम्पनीले प्राक्टिस एक्सन लगायत विभिन्न गैरसरकारी संस्थाको समन्वयमा कर्णाली नदीको सतह मापन सूचकाङ्कको आधारमा कैलाली र बर्दियाका स्थानीय तहमा यस किसिमको बीमालेख जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जलस्तर, खडेरी र हावाको गति मापन गर्न सकिने व्यवस्था छ । यही कारण मौसमी अवस्थाको कारण हुने कृषि उपजको क्षतिलाई पूर्व निर्धारित मापदण्ड अनुसार दाबी परेको अवस्थामा क्षति निर्धारण गरी क्षतिपूर्ति प्रदान गर्ने बीमा कम्पनीले जनाएको छ ।
गत असोज १ गते कर्णाली नदीको जल सतह १०.८ मिटर पुगेको थियो । यही बाढीका कारण पश्चिम तराईमा भएको क्षतिपछि कम्पनीमा बीमा दाबी गर्नेको लर्को लागेको हो । यस बीमा अन्तर्गत प्रथम १० प्रतिशत रकम इन्स्योरेन्सले २४ असोजमै किसानहरूलाई भुक्तानी दिइसकेको बताएको छ । पछि २४ असोजमा कर्णाली नदीको जल सतह १२.३५ मिटर पुगेपछि थप १५ प्रतिशत रकम किसानलाई भुक्तानी गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस बीमा योजनामा हालसम्म ९ लाख रुपैयाँ प्रिमियम सङ्कलन भएको छ । तर ३५ लाख रुपैयाँ दाबी परेको कम्पनीले जनाएको छ । गत साउनबाट सुरु गरिएको उक्त योजनामा हालसम्म २६ वटा सहकारीहरूमा सम्बद्ध ९३५ किसानको बीमा भएको छ । सरकारले कृषि बाली, पशु बीमा प्रवर्द्धन गर्न आकर्षक अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, निकै जोखिम मानिने बाढी बीमामा भने अनुदान दिएको छैन ।