प्रतिव्यक्ति ७६० रुपैयाँले बढ्यो नेपालीको बीमा खर्च, एक वर्षमा तिर्छन् झण्डै ६ हजार बीमाशुल्क
काठमाडौं । एक नेपालीले बीमामा बार्षिक औषत करिब ६ हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । बीमा समितिबाट प्राप्त गत आर्थिक बर्ष २०७८/७९ को तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आर्थिक बर्षमा एक जना नेपालीले बीमा गर्दा औसत ५ हजार ८६५ रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आव २०७७÷७८ मा भने एक जना नेपालीले बीमामा औसत ५ हजार ११४ रुपैयाँ खर्च गरेका थिए ।
त्योअनुसार पछिल्लो १ बर्षमा नेपालीले बीमामा गर्ने खर्च प्रतिव्यक्ति ७५० रुपैयाँले बढेको देखिन्छ । गत आर्थिक बर्षमा एक नेपालीले जीवन बीमामा ४ हजार ५७३ रुपैयाँ खर्च गरेको देखिन्छ । यसैगरि निर्जीवन बीमामा १ हजार २९२ रुपैयाँ खर्च गरेको बीमा समितिबाट प्राप्त एक तथ्यांकले देखाएको छ ।
अघिल्लो आवमा एक जना नेपालीमा जीवन बीमामा औसत ४ हजार ५२ रुपैयाँ र निर्जीवन बीमामा औसत १ हजार ६२ रुपैयाँ खर्च गरेको देखिन्छ । कुल बीमाशुल्क र जनसंख्याको आधारमा बीमा समितिले यस्तो विवरण तयार गरेको हो । यसलाइ बीमाको भाषामा बीमा घनत्व भनिएको छ।
हाल नेपालमा जीवन बीमाको पहुँच ४१ प्रतिशत पुगेको छ । गत आवमा बीमा कम्पनीहरुले कुल १ खर्ब ७७ अर्ब बीमाशुलक आजृन गरेको थिए । त्यसमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।















