अर्को सातादेखि कोरोना बीमाको बाँकी रकम भुक्तानी: पहिला दाबी गर्नेलाई पहिला भुक्तानी

काठमाडौं । लामो समय देखि रोकिएको कोरोना बीमाको दाबी प्रक्रिया अघि बढेको छ । कोरोना बीमा भुक्तानी आगामी सातादेखि गर्ने कम्पनीहरुले तयारी थालेका छन् ।
सरकारले केही समयअघि कोरोना बीमा भुक्तानीको लागि गरेको १ अर्ब रुपैयाँ निकासा गरेको थियो । यो रकम बीमक संघको खातामा पनि पठाएको छ ।
कोरोना बीमा बापत झण्डै १० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । अहिलेलाई भने १ अर्ब ८१ करोड ८१ लाख रकम रुपैयाँ रकम भुक्तानी गर्न लागिएको बीमा समितिले जनाएको छ ।
सरकारबाट आएको १ अर्ब लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत (८१ करोड ८१ लाख) बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पीले थप गरेर कुल १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी गर्न लागिएको हो । ४५ प्रतिशतमा बीमा समितिले ८ प्रतिशत अर्थात १५ करोड ५४ लाख, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले २५ प्रतिशत रकम थप्नेछन् ।
लामो सयदेखि रोकिएको कोरोना बीमाको दाबीमा पहिलो चरणमा १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी हुदैंछ । जुन रकम पहिला आवेदन आएको आधारमा सम्बन्धीत बीमितलाई भुक्तानी दिइने समितिले जनाएको छ । यद्यपि, राष्ट्र सेवक कर्मचारीलाई भने तत्कालन दाबी भुक्तानी नदिने नीति ल्याइएको छ ।
अर्थमन्त्रालयले पनि दाबीमा मितिका आधारमा भुक्तानी दिन निर्देशन दिएको छ । जसका आधारमा पहिला दाबी गर्नेलाई पहिला भुक्तानी हुने बीमा समितिले जनाएको छ। समितिका अनुसार बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका हुन् ।
सरकारले यस बापतको रकम दिन आनाकानी गरेपछि बीमा समिति तथा कम्पनीहरुले ४५ प्रतिशत रकम आफै बेहोर्ने विकल्प अर्थ मन्त्रालयमा दिएका थिए ।
साथै, राष्ट्र सेवक कर्मचारीको दायित्व सरकार तथा राष्ट्रिय बीमा कम्पनीले लिनुपर्ने शर्त पनि राखिएको थियो । सोहीअनुसार नै कोरोना बीमाको दावी भुक्तानी गर्न लागिएको हो । कोरोना बीमामा झण्डै १० अर्ब दावी भुक्तानी हुन बाँकी छ ।