प्रोफिट बुक गर्नेहरु सक्रिय हुदाँ शेयर बजारमा पहिरो, १३ वटै उपसूचक राताम्य
काठमाडौं । बुधबार फेरी शेयर बजारमा भारी गिरावट देखिएको छ । सोमबार र मंगलबारको कारोबारको दिन झिनो गिरावट देखिएको शेयर बजारमा बुधबारसम्म आइपुग्दा पहिरो गएको हो ।
प्रोफिट बुक गर्नेहरु जारी रहँदा बजार तल झरेको शेयर विज्ञ भरतमुणी रानाले बताए । थोरै लाभमै प्रोफिट बुक गर्नेहरु सक्रिय भएपछि नेप्से दबाबमा परेको शेयर बजारमा प्रभाव परेको उनको भनाइ थियो ।
थोरै फाइदा हुने बित्तिकै बेचिहाल्ने मनोविज्ञान धेरैमा देखिएकाले बजारमा बिक्रेता हावी भएका हुन् । लगानीकर्ताको मनोबल समेत सकारात्मक हुन नसक्दा शेयर बजारमा प्रभाव परी रहेको आंकलन गर्न थालिएको छ । धेरै समय देखि निरन्तर घटी रहेको शेयर बजार थौरै सुधार तिर जाँदा बेचिहालौं पछि अझ तल जाने हो भन्ने मनोविज्ञानले शेयर बजार बढ्न सकेको छैन ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा भारी गिरावट आउँदा आज १३ वटै उपसूचक ओराला लागेका छन् । बुधबार बैंकिङ समूहको १.०३ प्रतिशत, विकास बैंक समूहका ३.१८ प्रतिशत, हाइड्रोपावर समूहको २.६ प्रतिशत, फाइनान्स समूहको ४.७३ प्रतिशत, जीवन बीमा समूहको २.१८ प्रतिशत र निर्जीवन बीमा समूहको १.८६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज एक्सेल डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७.९५ प्रतिशतले घटेको हो । बुधबार उपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७.४२ प्रतिशतले बढेको हो ।
नेप्से ओरालो लाग्दा समेत आज नेष्डो समृद्ध लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ७८ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।


















