बैतडीमा असिनाले गहुँबालीमा क्षति, भोकमरीको चिन्ता « Arthapath.com
२६ बैशाख २०७७, शुक्रबार

बैतडीमा असिनाले गहुँबालीमा क्षति, भोकमरीको चिन्ता



बैतडी ।असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्‍याएको छ। केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्‍याएको किसानले बताएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्‍याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए। “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा नष्ट गरेको छ। खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ”, उनले भने।

पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत नष्ट गरेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पु¥याएको किसानले बताएका छन्। बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ। जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्‍याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पु¥याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए।

जिल्लाको पुर्चौँडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति पुर्‍याएको हो। यस्तै असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्षति पु¥याएको छ। वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पुर्‍याएकोसुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिए।

असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ। मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पुर्‍याएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन्।

गत वर्ष २४ हजार ५०० मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ। बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ। लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ। किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो।

केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि पानी पर्न थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दोगडाकेदार–६ का स्थानीय गजबहादुर गोयलाले बताए। केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पु¥याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन्। गएको दुई हप्तादेखि लगाताररूपमा पानी परिरहेकाले काटिसकेको गहुँसमेत थ्रेसिङ गर्न नपाएको दोगडाकेदार–१ रिमका नरेन्द्र विष्टले बताउ। उनले भने, “काटिसकेको गहुँसमेत कुहिने अवस्थामा रहेको छ।”

बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो। दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिए।रासस


प्रतिक्रिया दिनुहोस्