नेपालका दुई पुनर्बीमा कम्पनीको लगानी २७ अर्ब ७७ करोड, पूर्वाधार बैंकको निक्षेप र घर-जग्गामा शून्य
काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुको लगानी साढे २७ अर्ब बढी नाघेको छ ।
नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको लगानी लगानी २७ अर्ब ७७ करोड ४४ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिक लगानी विवरणको तथ्याङ्कले यस्तो देखाएको हो । हाल नेपाल दुई कम्पनीले मात्र पुनर्बीमा व्यवसाय गर्दै आएका छन् ।
प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै लगानी नेपाल पुनर्बीमा कम्पनीको देखिएको छ । कम्पनीले अर्थतन्त्रका विभिन्न क्षेत्रमा २० अर्ब १ करोड ४० लाख ४७ हजार रुपैयाँ लगानी गरेको छ । हिमायन रिको भने ७ अर्ब ७६ करोड ४० लाख ५१ हजार रुपैयाँ रहेको छ ।
नेपालका पुनर्बीमा बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुको लगानी वाणिज्य बैंकहरुको मुद्दति निक्षेप केन्द्रित देखिएको छ । उक्त अवधिमा दुई पुनर्बीमा कम्पनीले क वर्गको बैंकको मुद्दति निक्षेपमा २१ अर्ब ९० करोड १२ लाख ९७ हजार रुपैयाँ लगानी गरेका छन् । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको १४ अर्ब ८१ करोड १२लाख ९७ हजार र हिमालयन रिको ७ अर्ब ९ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।
यी दुवै कम्पनीहरुले नेपाल पूर्वाधार बैंकको मुद्दति निक्षेप, घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, सुरक्षित डिवेन्चर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा शन्य लगानी रहेको छ । यस्तै, कम्पनीहरुले ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, संस्थापक सेयर, सूचीकृत नभएका पब्लिक कम्पनीको साधारण सेयरमा पनि लगानी गरेको देखिदैन ।
चालु आवको पहिलो त्रैमासमा दुई पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड, क, ख र ग वर्गाका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा २ अर्ब ३७ करोड ३८ लाख ४५ हजार, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा १३ करोड ५१ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ।















