अब बीमा कम्पनीहरुले तोकिएकै समयमा वित्तीय विवरण तयार पार्नुपर्ने, ढिलाई गरे १० लाखसम्म जरिवाना
काठमाडौं । अब सबै बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने भएको छ । बीमा ऐन, २०७९ को दफा ८७ बमोजिम बीमकले आर्थिक वर्ष सकिएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने छ ।
यसका साथै दफा ८४ (२) बमोजिम बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरि अर्को वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
प्राधिकरणको निर्देशन अनुसार अब सबै बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार अर्को वर्षको ६ महिनभित्र पेश गर्नुपर्ने भएको हो ।
तोकिएको ढाँचामा र तोकिएको समयमा वित्तीय विवरण पेश नगरेमा तथा लेखापरीक्षण नगरेमा बीमक कम्पनीहरुलाई दफा १३८ बमोजिम जरिवना हुने बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले जानकारी दिए ।
बीमा ऐन अनुसार तोकिएको समयभित्र लेखापरीक्षण नगर्ने बीमा कम्पनीका हकमा पहिलो एक हप्तासम्मका लागि ५० हजार, एक महिनासम्मका लागि १ लाख, तीन महिनादेखि बढी १० लाख रुपैयाँ जरिवानाको समेत व्यवस्था गरिएको छ ।













