११ श्रावण २०८३, सोमबार

मर्जरको प्रेसरमा नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल, चैतभित्र गाभिन प्राधिकरणले दियो दबाब !



काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन निर्जीबन बीमा कम्पनीलाई मर्जरमा जान दबाब दिएको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स मर्जरमा जान निर्देशन दिएको हो ।

यी तीनै वटा कम्पनीलाई प्राधिकरणले आगामी चैत महिनाभित्र मर्जरमा जान निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । उच्च स्रोतका अनुसार यी तीनै वटा कम्पनी मर्जरमा जानका लागि नियामक नेपाल बीमा प्राधिकरणसंग संयुक्त बैठकसमेत बसेको थियो । बैठकमा तीनै वटा कम्पनीलाई मर्जरमा जान प्राधिकरणले निर्देशन दिएको हो ।

स्रोतले भन्यो,–“नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स मर्जरमा जाने भएका छन्, यसका लागि कम्पनीका संचालकहरु र प्राधिकरणको संयुक्त छलफल अघि बढाएका छन् ।” छलफलमा तीन कम्पनीलाई आगामी चैत मसान्तभित्र मर्जरमा जानका लागि प्राधिकरणबाट निर्देशन भएको स्रोतको भनाई छ ।

यी तीनै वटा कम्पनीमा केही संचालकहरु एउटै व्यवसायिक घरानाका समेत रहेका छन् । तीन नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुपको ठुलो लगानी रहेको छ भने नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा विशाल ग्रुपको ठुलो लगानी रहेको छ ।

कम्पनीहरु मर्जरका लागि बीमा प्राधिकरणसंग छलफल अघि बढाएका हुन् । विशाल ग्रुप र आइएमई ग्रुप ठुलो लगानी रहेका यी कम्पनीहरु मर्जर जानका लागि आवश्यक प्रक्रिया र तयारीका लागि छलफल अघि बढाइएको हो ।

यी तीनै वटा कम्पनी मर्जपछिको चुक्ता पुँजी ४ अर्ब २६ करोड बढी हुनेछ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड ६१ लाख ४५ हजार र नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय रिर्पोट अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ५ करोड बढी नाफा आर्जन गरको छ । सो अवधि कम्पनीका कुल बीमाशुल्क आर्जन ४४ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा २९ करोड ३० लाख ४२ हजार, बीमा कोषमा ५७ करोड ७ लाख ३८ हजार रुपैयाँ रहेको छ । अबकम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, चालु आवको कात्तिक मसान्तसम्ममा प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ६६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३४ करोड ७२ लाख ९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २७ करोड ६३ लाख ३० हजार र बीमा कोषमा ६९ करोड ७२ लाख ३७ हजार रुपैयाँ राखेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरि नेपाल इन्स्योरेन्सको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ७ करोड ३ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले कुल ४३ करोड ७६ लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले जगेडा तथा कोषमा ४३ करोड ७७ लाख ३७ हजार र बीमा कोषमा ७८ करोड ७७ लाख ३७ हजार रुपैयाँ राखेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ८७ पैसा रहेको छ ।