११ श्रावण २०८३, सोमबार

एक वर्षमा १३.१७ प्रतिशतले बढ्यो बीमाको पहुँच, ४४ प्रतिशत पुग्यो बीमाको दायरा

एक वर्षमा १३.१७ प्रतिशतले बढ्यो बीमाको पहुँच, ४४ प्रतिशत पुग्यो बीमाको दायरा



काठमाडौं । पछिल्लो एक वर्षमा पछिल्लो एक बर्षमा झण्डै ४४ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । एक वर्षमा बीमाको दायरा ११.१७ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक बर्षको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार ४३.८९ प्रतिशत जनसंख्या बीमाको दायरमा आएका छन् । जनसंख्याको विवरण राष्ट्रिय तथ्याङ्क कार्यालय २०७८ सालमा प्रकाशित गरेको प्रारम्भिक प्रतिवेदनमा जनसंख्या र वैदेशिक रोजगार बीमालेखको संख्यामा आधारमा गणना गरिएको प्राधिरणले जनाएको छ । जसमा म्यादि, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित समावेश गरिएको हो । गत वर्षको मंसिर मसान्तसम्ममा भने बीमा दायरामा आएको जनसंख्या प्रतिशत ३०.७२ रहेको थियो ।

सो अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३९.८७ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच २८.६७ प्रतिशत मात्रै रहेको थियो ।

१०४ प्रतिशतले बढ्यो बैदेशिक रोजगार बीमालेखको संख्या

एक वर्षको अवधिमा बैदेशिक रोजगार बीमालेखको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्राधिरणका अनुसार चालु आवको मंसिर मसान्तसम्मा बैदेशिक बीमालेखको संख्या १०४.७८ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीहरुले १२ लाख ४९ हजार ७६२ बैदेशिक बीमालेख जारी गरेका छन् । तर, गत वर्षको मंसिर मसान्तसम्ममा भने यो बीमालेखको संख्या ६ लाख १० हजार २९४ रहेको थियो ।

निर्जीवन बीमालेख घट्यो, जीवन बीमालेख भने ४५.४० प्रतिशतले वृद्धि

चालु आवको मंसिर मसान्तसम्म आईपुग्दा निर्जीवन बीमालेखको संख्यामा कमी आएको छ । सो निर्जीवन बीमालेखको संख्या ८.०९ प्रतिशतले घटेर ११ लाख ४७ हजार २६४ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीहरुले १२ लाख ४८ हजार १९२ बीमालेख बिक्री गरेका थिए । यस वर्षको मंसिर मसान्तसम्ममा निर्जीवन बीमा शुल्क संकलन ३.५८ प्रतिशतले बढेर १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीहरुको यो शुल्क १५ अर्ब ४२ करोड ६९ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, सो अवधिमा जीवन बीमालेखमा ४५.४० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको मंसिर मसान्तसम्ममा ९६ लाख १९ हजार ४४७ हजार बीमालेख जारी गरेका कम्पनीहरुले यस वर्षको सोही अवधिमा १ करोड ३९ लाख ८६ हजार ५०५ बीमालेख बिक्री गरेका छन् । सो अवधिमा जीवन बीमा शुल्क संकलन भने २.३९ प्रतिशतले वृद्धि भई ५९ अर्ब ५१ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको मंसिर मसान्तसम्ममा भने कम्पनीहरुले ५८ अर्ब १२ करोड ९३ लाख ९६ हजार रुपैयाँ जीवन बीमा शुल्क संकलन गरेका थिए ।

बीमा कम्पनीको कार्यालय र कर्मचारी संख्या थपिने क्रम बढ्यो

चालु आवको मंंसिर मसान्तसम्ममा बीमा कम्पनीको कार्यालय र बीमा कर्मचारीहरुको संख्यामा पनि सामान्य वृद्धि देखिएको छ । यस वर्षको मंसिरसम्ममा बीमा कम्पनीहरुको कार्यालय ३.३५ प्रतिशतले बढेर ३ हजार ३५८ पुगेको छ । गत वर्षको सोही अवधिमा भने यो संख्या ३ हजाजर २४९ रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, सो अवधिमा बीमा कर्मचारीहरुको संख्यामा ११ हजार ७१७ पुगेको छ । जुन गत वर्षको मंसिर मसान्तसम्मको तुलनामा २.३१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बीमा कर्मचारीको संख्या ११ हजार ४५२ रहेको थियो । एक वर्षको अवधिमा बीमा कम्पनीहरुमा २६५ कर्मचारीहरु थपिएका हुन् ।