एक महिनामा मोबाइल बैंकिङ्ग मार्फत डेढ खर्बको कारोबार, प्रयोगकर्ताको संख्या साढे २ करोड नाघ्यो
काठमाडौं । पुस महिनामा मात्रै मोवाइल बैंकिङ्ग मार्फत डेढ खर्ब बढीको वित्तीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार पुस महिनामा मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७७.७४ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा मोबाइल बैंकिङ्ग मार्फत ९४ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
राष्ट्र बैंकका अनुसार यो संख्याको आधारमा भने पुुस मसान्तसम्ममा २ करोड १६ लाख ४५ हजार १६२ पटक मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा भने मोबाइल बैंकिङ्ग मार्फत १ करोड ३५ लाख १८ हजार ९३६ पटक/वटा कारोबार भएको थियो ।
गत मंसिर महिनासम्ममा भने मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ६० अर्ब ३ करोड ६० लाख बढीको कारोबार भएको थियो । सो अवधिमा २ करोड १६ लाख ३५ हजार ४३१ पटक/वटा मोबाइल बैंकिङ्ग कारोबार भएको थियो ।
पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार मोबाईल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको देखिएको छ । राष्ट्र बैंकले बैंकिङ्ग तथा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै आएको छ । मोबाइल बैंकिङ्ग मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न सकिन्छ । साथै अनलाइन किनमेल, स्कुल, इनटरनेट सेवा प्रदायक कम्पनीमा पैसा भुक्तानी, बिजुली पानीको पैसा तिर्न पनि सजिलै सकिन्छ ।
कति छन् नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ?
नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या साढे २ करोड बढी छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५३ हजार ४२० पुगेका छन् ।
पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २३.६९ प्रतिशतले बढेको हो । विशेषगरि कोरोना महामारीपछि मोबाईल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउछ ।
राष्ट्र बैंकका अनुसार गत वर्षको पुस मसान्तसम्ममा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकको संख्या १ करोड ६२ लाख १२ हजार ४६८ रहेको थियो । चालु आवको मंसिर मसान्तसम्ममा भने १ करोड ९७ लाख ६६ हजार ४१५ रहेको थियो ।
लकडाउनका कारण बैङ्किङ कारोबार गर्नका लागि बैंकको शाखा कार्यालयसम्म जान कठिन हुने र सुरक्षाको हिसाबले समेत मोबाइल बैंकिङ्गतर्फ आकर्षण बढ्न थालेको बैंकरहरुको बुझाइ छ । समयको बचत हुने र सरल तरिकारले कारोबार गर्न सकिने भएकाले आम मानिसहरु यस तर्फ आकर्षित हुन थालको बताइएको छ ।













