सञ्चय कोषले हिमालयन बैङ्कको प्रतिनिधि गौतमलाई हटाएर धिताललाई तोक्यो, गौतम भन्छन् : मलाई थाहा छैन « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

सञ्चय कोषले हिमालयन बैङ्कको प्रतिनिधि गौतमलाई हटाएर धिताललाई तोक्यो, गौतम भन्छन् : मलाई थाहा छैन



काठमाडौँ । कर्मचारी सञ्चय कोषको सञ्चालक समिति बैठकले हिमालयन बैङ्कमा आफ्नो तर्फबाट प्रतिनिधित्व परिवर्तन गरेको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतमको मुद्दा अदालतमा विचाराधीन रहेकोले हिमालयन बैङ्कको प्रतिनिधिबाट हटाएर कोषका वरिष्ठ सह–प्रशासक जितेन्द्र धिताललाई तोकेको छ । 

गौतम २० महिनाअघि हिमालयन बैङ्कको सञ्चालक समितिको अध्यक्ष बनेका थिए । मङ्गलवार कर्मचारी सञ्चय कोषको तर्फबाट हिमालयन बैङ्कको अध्यक्ष बनेका गौतमलाई हटाएर दोस्रो बरिएताका जितेन्द्र धिताललाई प्रतिनिधिको रूपमा पठाएको हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अर्थपथलाई बताए । 

अव हिमालयन बैङ्कको सञ्चालक समिति बैठकले नयाँ अध्यक्ष चयन गर्नेछ । हिमालयन बैङ्कमा कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर हिस्सा रहेको छ । 

कर्मचारी सञ्चय कोषको सञ्चालक समितिले आफ्ना लगानी रहेका विभिन्न बैङ्कमा प्रतिनिधि पठाउने गरेको छ । यही भदौ ३ गते देउवा सरकारले गौतमलाई प्रशासकबाट बर्खास्त गरी धिताललाई कामु प्रशासक तोकेको थियो । तर सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई सरकारले गरेको वर्खास्ती रोक्न अल्पकालीन आन्तरिक आदेश दिएको थियो ।

सो मुद्दाको फैसला असोज ४ गते सोमबारलाई तोकिएको छ । अदालतको पूर्ण फैसला नआएकाले आफू हाजिर भएर बिदामा बसेको कोषका प्रशासक गौतमले बताएका छन् । आफूलाई बैङ्कको सञ्चालकबाट हटाएर प्रतिनिधि परिवर्तन गरेको बारेमा कुनै जानकारी नभएको गौतमले बताए । ‘म सर्वोच्चको पूर्ण फैसला नआउन्जेल बिदामै बसेको छु, के भयो मलाई जानकारी छैन प्रशासक गौतमले भने ।’  


प्रतिक्रिया दिनुहोस्