वाणिज्य बैंकले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु मालामाल, पर्सिदेखी ११.०३ प्रतिशत ब्याज पाइने « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

वाणिज्य बैंकले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु मालामाल, पर्सिदेखी ११.०३ प्रतिशत ब्याज पाइने



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति भएको छ । नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले निक्षेपको ब्याजदर बढाउने सहमति भएको बैठकमा सहभागी भएका एक सीईओले जानकारी दिए ।

नेपाल बैंकर्स संघको बैठकले मार्केट एभरेजको १० प्रतिशत अर्थात् १ प्रतिशत बढाउने निर्णय गरेको उनले बताए । संघको शुक्रबारको बैठकले गरेको निर्णय अनुसार अब फागुनमा १ प्रतिशत ब्याज बढाउन सक्नेछन् ।

बैंकहरुले मुद्दती निक्षेप खातामा व्यक्तिगतमा बढीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यसअघि बैंकहरुले १०.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए ।

बैंकहरुले गत मंसिरयता निक्षेपको ब्याजदर बढाएका थिएनन् । वाणिज्य बैंकहरुले माघ महिनामा पनि ब्याज बढाएका थिएनन् । ब्याजदर बढाएर पनि निक्षेप नबढ्ने तर लागत मात्रै बढ्ने भएपछि बैंकहरुले माघ र पौष महिनामा ब्याज बढाएका थिएनन् ।

विकास बैंकहरुले १०.२५ प्रतिशत र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशत ब्याज दिईरहेका छन् । विकास बैंक र फाइनान्स कम्पनीको निर्णय भईसकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्