सामाजिक सुरक्षाः नबिलसहित दर्जन बैंकमा कालो ब्यानर, यो साताभित्र देशैभरका बैंक शाखामा बिराेध « Arthapath.com
१६ असार २०७८, बुधबार

सामाजिक सुरक्षाः नबिलसहित दर्जन बैंकमा कालो ब्यानर, यो साताभित्र देशैभरका बैंक शाखामा बिराेध



काठमाडौं । नबील बैंकका कर्मचारीले पनि सामाजिक सुरक्षा कोषका विरुद्ध विरोध सुरु गरेको छ । गत साता २९ वटा बैंक तथा वित्तीय संस्था कर्मचारी युनियनहरुले संयुक्त विज्ञप्तीमार्फत् विरोध जनाएपछि हिजोबाट बैंकहरुले देशब्यापी ब्यानर टाँस्ने कार्यक्रम अघि बढाएका छन् ।

नबीलले देशभरका ११९ शाखामै कालो ब्यानर टाँस्ने भने पनि कतिपय जिल्लामा निषेधाज्ञाका कारण एकैदिन टाँस्न नसकिएको बैंकलेजनाएको छ । ‘कालो ब्यानर टाँस्ने काम भएको छ, बैंकको सेवा बन्द गरिएको छैन,’ नबील बैंक कर्मचारी संघका अध्यक्ष सविन भट्टराईले भने । सामाजिक सुरक्षा कोषले असार मसान्तभित्रै सबै बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुने निर्देशन दिएपछि कर्मचारी युनियनहरु विरोधमा उत्रिएका हुन् ।

‘हामी सरकारको विरोध गरेका होइनौं । हामीलाई फुर्सद पनि छैन,’ भट्टराईले भने, ‘कुरा सुनुवाइ भएन भने कडा कदम चाल्नुपर्ने देखिएको छ ।’ उनले आफूहरु आन्दोलनको तयारी थाल्दा बार्ताको कुरा गरेर भुल्याउने र संँगसागै असार मसान्तसम्म कोषमा सहभागि नभए कारबाही गर्छु भन्दै बैंकलाई पत्र पठाउने दोहोरो चरित्र देखाइएको बताए । ‘सीडीओ कार्यालयले नागरिकता दिन बन्द गर्दा पनि बैंकहरुले सेवा बन्द गरेनन् । यस्तो क्षेत्रमा श्रमिकको लागि भनेर श्रमिक नै मार्ने कानून ल्याउनु उचित होइन,’ उनले थपे ।

नबिलमा मात्रै करीब १२ सय कर्मचारी कार्यरत छन् । अन्य पराशर्म तथा अल्पकालिन सेवाअवधिको कामदारसहित जोड्दा यो संख्या १६ सय हाराहारी पुग्छ । उनीहरुले पहिलो चरणमा कालो ब्यानर टाँस्ने र त्यसपछि धर्ना लगायतका कार्यक्रम अघि बढाउने बताएका छन् ।

‘कोष मुढभेडको दिशमा अघि बढेको छ । हामीले त्यस्तो खोजेको होइनौं,’ भट्टराईले भने । सरकारी पक्ष ‘पेलेरै जाने’ हो भने आफूहरु पनि त्यस्तै बाटो रोज्न बाध्य हुने चेतावनी उनले दिएका छन् । ‘अहिलेसम्म हामी मसिनो आवाजमा कुरा गरिरहेका छौं । सुनुवाई भएन भने अब आवाज ठूलो पार्छौं,’ उनले भने ।

‘श्रमिकसँग २० रुपैयाँ मागेर ५० पैसा फिर्ता दिने’ योजना ल्याएको भन्दै बैंकका कर्मचारीले योजना सच्याउनुपर्ने माग गर्दै आएका थिए । तर कोषका अधिकारीहरुले केही चरणमा कर्मचारीको कुरा सुनेर पनि त्यसलाई बेवास्ता गरेको कर्मचारी संघका अधिकारी बताउँछन् ।

अध्यक्ष भट्टराईले यही साताको अन्त्यसम्म देशभरका सबै बैंकका शाखा कार्यालयमा कालो ब्यानर टाँसिसक्ने योजना बनाएको बताए । तर केही बैंकमा युनियन गठन नभएका कारण कर्मचारीलाई संगठित भएर विरोध गर्न कठिनाइ भएको बताए । सेञ्चुरी, सिटिजन्स, ग्लोबल आईएमई, सनराइज, सानिमा, नेपाल इन्भेस्टमेण्टलगायत बैंकमा अहिले पनि कर्मचारी युनियन गठन हुन सकेका छैनन् ।

भट्टराईले पछिल्लो घटनाका कारण कर्मचारी युनियन भनेको सधैंभरी व्यवस्थापनको वर्ग शत्रु नहुने कुरा स्पष्ट भएको बताए । कर्मचारीमात्र होइन, व्यवस्थापनलाई पनि युनियनका कारण कतिपय काममा सहयोग पुग्ने भन्दै उनले सबै बैंकमा कर्मचारी युनियन गठन गर्न पहल गरिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्