यी ५ स्थानीय तहमा अझै पुगेन वाणिज्य बैंक, झण्डै १० हजार पुगे बैंक वित्तिय संस्थाको शाखा « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

यी ५ स्थानीय तहमा अझै पुगेन वाणिज्य बैंक, झण्डै १० हजार पुगे बैंक वित्तिय संस्थाको शाखा



काठमाडौं । देशका ७५३ वटा पालिकामध्ये ७४८ पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म ५ वटा पालिकाबाहेक सबै पालिकामा ‘क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकका शाखा पुगेका हुन् ।

राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का १३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन । वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णाली प्रदेशको जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, नेपालमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था संख्या १ सय ४६ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म देशभरमा १४६ बैंक तथा वित्तीय संस्था पुगेका हुन् । २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९७६५ रहेकोमा २०७७ असोज मसान्तमा बढेर ९९०३ पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्