४ अर्ब लगानीमा खुल्यो ‘लुम्बिनी सेरामिक्स’, भिट्रीफाइड टायलको रोकिएला आयात ? « Arthapath.com
१५ मंसिर २०८१, शनिबार

४ अर्ब लगानीमा खुल्यो ‘लुम्बिनी सेरामिक्स’, भिट्रीफाइड टायलको रोकिएला आयात ?



काठमाडौं । नेपालमा वर्षेनी अर्बौँ रुपैयाँको टायल आयात हुँदै आएको छ । भन्सार विभागको आँकडा अनुसार नेपालले एकै वर्ष १० अर्ब बढीको टायल आयात भइरहेको देखिन्छ ।

कोरोना महामारी अघिसम्म नेपाली बजारमा ९९ प्रतिशत टायल भारत लगायतका मुलुकबाट टायल आयात हुने गरेको थियो । पछिल्लो समय टायलको प्रयोग झनै बढ्न थालेको छ ।

आफ्नो घरको भान्छा, बाथरुम, छत, भुईँ र भित्तासम्म पनि टायल अनिवार्य बन्न पुगेका छ । टायलको बढ्दो माग र आकर्षणकै कारण नेपालमा वर्षेनी १२ अर्ब हाराहारी खपत हुने अनुमान व्यवसायीको छ । यति ठूलो बजार र बढ्दो मागका बाबजुद स्वदेशमा उत्पादन पर्याप्त नहुँदा अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यात्मक स्थिति कायमै छ ।

तर, बजार माग सजिलै धान्न र आयात प्रतिस्थापनका लागि बर्दियामा लुम्बिनी सेरामिक्स लिमिटेड संचालनमा आएको छ । मुलुकलाई टायल उत्पादनमा आत्मनिर्भर बनाउने मुख्य उदेश्यसहित कम्पनीले टायल उत्पादन सुरु गरेको हो । यो नेपालकै पहिलो भिट्रिफाइड अर्थात् पानी नसोस्ने टायल उत्पादन गर्ने उद्योग हो । हाल ६ नेपालमा ६ वटा टायल कम्पनी स्थापना भएका छन् । पछिल्लो समय टायलको बढ्दो लोकप्रियता, आयात प्रतिस्थापन र बजार प्रतिस्पर्धाकै लागि सेरामिस्ले झन्डै ४ अर्ब लगानीमा उद्योग संचालनमा ल्याएको छ ।

यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उद्योग साढे १२ विघामा फैलिएको छ । उद्योग गत भदौदेखि नै संचालनमा आएको छ । मुलुकलाई टायल उत्पदनमा आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गराउने मुख्य उद्देश्यसहित उद्योग संचालनमा ल्याइएको लुम्बिनी सेरामिक्स लिमिटेडका अध्यक्ष सुव्रत धितालले बताए ।

‘हामीले विदेशी टायलको प्रयोग भन्दा पनि स्वदेशी ब्रान्डलाई स्थापित बनाउनुपर्छ भन्ने हेतुले उद्योग संचालनमा ल्याएका हौ । यो देशकै ठुलो र युरोपेली गुणस्तरको अत्याधुनिक टायल उद्योग हो । यसको उत्पादन गत भदौ देखि सुरु भइसेको छ’, अध्यक्ष धितालले भने । उनका अनुसार लेमिनार ५ सयभन्दा बढी आकर्षक डिजाइनमा उत्पादन हुँदै आएको छ । जुन नेपाली बजारका प्रतिस्पर्धी भन्दा उच्च गुणस्तरको टायल रहेको अध्यक्ष धितालले दावी गरे ।

कम्पनीले हाल दैनिक १ लाख ४० हजार स्क्यवायर फिट टायल उत्पादन गर्दै आएको छ । यस उद्योगको उत्पादन क्षमता प्रतिवर्ष झन्डै चार करोड १५ लाख वर्ग फुट छ । घर, ठूला–ठूला भवन, कम्प्लेक्स तथा मलहरु, अपार्टमेन्ट लगायत सबैलाई आवश्यक शत प्रतिशत भिट्रीफाइड टायल उत्पादन थालेको छ ।

‘लुम्बिनी सेरामिक्स नेपालको पहिलो भिट्रीफाइड टायल उत्पादक उद्योग हो । टायलमा पानी पर्दा पनि शतप्रतिशत नै सोस्दैन । अत्याधुनिक प्रवृधिबाट उत्पादन हुने भएकाले उच्च गुणस्तर एकदमै टिकाउ हुन्छ’, उद्योगका निर्देशक अभिनव चुरिवालले भने ।
उनका अनुसार लेमिनार ब्रान्डमा प्रतिवर्गफिटको न्युनतमा ८० रुपैयाँदेखि टायल उत्पादन हुन्छ । यसको अधितकम भने २०० रुपैयाँसम्म पर्ने निर्देशक चुरिवालले बताए ।

‘हाम्रा सबै उत्पादनहरु १०० प्रतिशत भिट्रीफाइड टायलहरु हुन्, जुन पानी प्रतिरोधी एवम् बलियो छ । घरभित्र, बाहिर, भुईँदेखि भित्तासम्म व्यक्तिगत आवास तथा व्यवसायिक स्थानहरुमा पनि ढुक्कसँग प्रयोग गर्न सकिन्छ’, निर्देशक चुरिवालले थपे ।

स्वदेशमै उत्पादित टायल आयातित भन्दा २० प्रतिशतसम्म कम मूल्य पर्ने उनले बताए । लेमिनार पनि आयातित टायलको तुलनामा धेरै सस्तो र उच्च गुणस्तर भएकाले यसको माग बढ्दै गएको उनको भनाई छ। यसले आगामी दिनमा विदेशी टायलहरु विस्तारै विस्थापित हुनेछ ।

हाल उद्योगले पार्किङ, टेरेस, बाल्कोनी, पैदल मार्ग, बगैंचालगायतका सुख्खा र भिजेको बाह्य वातावरणमा सुरक्षाको लागि डिजाइन गरिएको उच्चकोटीका टायल उत्पादन गर्छ । त्यस्तै, होटल, रेस्टुरेन्ट, स्टोर, बैठक कोठा, फोयर र अन्य व्यावसायिक स्थानहरूका लागि डिजाइन गरिएको उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

उनका अनुसार हाल देशको मुख्य शहरमा १०० बढी डिपोबाट लेमिनार टायल बिक्री वितरण हुँदै आएको छ । उद्योगमा हाल ३०० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेमिनार नेपाली बजारलाई केन्द्रित गरि उत्पादन थालिएको कम्पनीले जनाएको छ ।

टायल उत्पादनका लािग कच्चा पदार्थ (माटो) भने भारतबाट ल्याइने कम्पनीले जनाएको छ । गुणस्तर टायल उत्पादनका लागि भारतको राजस्थानबाट माटो ल्याउने गरिएको हो । तर, कच्चा पदार्थ पनि नेपालकै प्रयोग गर्ने गरि कामहरु भइरहेको छ । निर्देशक चुरिवालका अनुसार गुणस्तर टायल उत्पादनका आवश्यक माटो डडेलधुरामा भेटिएको छ । ‘टायलका लागि आवश्यक माटो भारतबाट आयात गर्दै आएको छौं । तर, डडेलधुरामा प्रयोग गर्न मिल्ने माटो भेटेका छौं, त्यसलाई उत्खनन गर्नका लागि लाइसेन्स पनि पाएका छौं । कच्चा पदार्थ पनि नेपाली नै प्रयोग गनुपर्छ’, चुरिवालले भने ।

आगामी दिनमा विस्तारै लगानी बढाउँदै जाने उद्योगले जनाएको छ । यसले टायलमा आत्मनिर्भर हुने र नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई ‘लेमिनार’ले परिपूर्ति गर्ने उद्योगको विश्वास छ । केही वर्षमै नेपाल टायल उत्पादनमा पूर्ण आत्मनिर्भर हुने लुम्बिनी सेरामिक्सले जनाएको छ । यसका साथै थप रोजगार सृजना गरि मुलुको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्