योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने, को हुन् सुगा ? « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने, को हुन् सुगा ?



काठमाडौं । जापानको सत्तारुढ दलले प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगालाई आफ्नो नयाँ नेता चुनेको छ । जापानको समाचार संस्था एनएचकेका अनुसार सुगालाई प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी बनाउन पार्टी नेतामा चयन गरिएको छ ।

सुगाले उनका प्रतिद्वन्दी महासचिव शिगेरू इशिबा र पार्टीका नीति प्रमुख फुमिओ किशिदालाई ७० प्रतिशतभन्दा बढी मत ल्याएर पराजित गरेका हुन् ।

अब सुगालाई आगामी बुधबार जापानको नयाँ प्रधानमन्त्रीको लागि मतदान हुने बताइएको छ । सरकारमा रहेका एल डीपी नेतृत्वको संयुक्त सरकारको स्पष्ट बहुमत रहेकाले सुगाले सो मतदान जित्ने बताइएको छ ।

को हुन् सुगा ?

आबेको पहिलो कार्यकाल पछि विस्वासिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार थिए । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए ।

जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ । मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिएका थिए ।

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रेयाटहरूले भरिएको सत्ताधारी पार्टीमा उहाँ किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुन् । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिर्नुभएको थियो, जहाँ उनले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो ।

उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बनेका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भएका थिए ।एनएचके


प्रतिक्रिया दिनुहोस्