२० वटा म्युचुअल फण्डको लाभांशः ३ वटा फण्डको ५० प्रतिशत, अन्य कुनको कति ? « Arthapath.com
१ आश्विन २०७८, शुक्रबार

२० वटा म्युचुअल फण्डको लाभांशः ३ वटा फण्डको ५० प्रतिशत, अन्य कुनको कति ?



सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईबिएल प्रगति र सहभागिता फण्डको लाभांश सबैभन्दा धेरै  

काठमाडौं । म्युचुअल फण्डहरु धमाधम लाभांश घोषणा गरिरहेका छन् । सस्तो मूल्यमा लगानीकर्तालाई म्युचअल फण्ड बिक्री गरेका कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । गत आर्थिक बर्ष बजार उल्लेख्य रुपमा बृद्धि भएपछि म्युचुअल फण्डको नाफा बढेको हो । नाफा वृद्धि भएपछि लगानीकर्तालाई मनग्य लाभांश वितरण गरेका छन् ।

विभिन्न कम्पनीका २५ म्युचुअल फण्ड सञ्चालनमा रहेपनि हालसम्म २० वटा फण्डले मात्रै लाभांश घोषणा गरेका हुन् । जसमा केही म्युचुअल फण्ड भर्खरै मात्रै जारी भएकाले लाभांश घोषणा नगरेका हुन् । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दो छ । बिक्री गरेको छोटो समयमा नै मागभन्दा बढी आवेदन पर्ने गरेको छ ।

विभिन्न म्युचुअल फण्डले सार्वजनिक गरेको लाभांशमा सर्वाधिक एनआईबिएल प्रगति र सहभागिता फण्डले ५०–५० प्रतिशतका दरले लाभांश दिने भएका छन् । यता गत माघ महिनामा मात्रै फण्ड जारी गरेको सानिमा लार्ज क्याप फण्डले पनि लाभांश वितरण गर्न शुरु गरेको छ । जसले इकाईधनीहरुलाई ४ प्रतिशतका दरले लाभांश दिने भएको हो । 

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया क्यापिटल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै सामूहिक लगानी कोषको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले  एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा गरेको हो । जसमा एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने भएको हो ।

त्यस्तै, कुमारी सामूहिक लगानी कोष अन्तर्गत कुमारी इक्विटी फण्डले नगद लाभांश दिने भएको छ । कुमारी क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को लागि योजनाका इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।  

त्यस्तै, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई लाभांश दिएको छ । लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांश दिएको हो । 

त्यस्तै, एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड–१ र एनआईबिएल सहभागिता फण्डले गत आर्थिक बर्षका लागी लाभांश घोषणा गरेका छन् । एनआईबिएल प्रगति फण्डले ५० प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत र एनआईबिएल सहभागिता फण्डले ५० प्रतिशत लाभांश घोषणा गरेका हुन् । 

त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश घोषणा गरेका छन् । गत आर्थिक बर्षको नाफाबाट सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीहरूलाई ३०–३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले गत आर्थिक बर्षको नाफाबाट इकाईधनीहरुलाई ४०–४० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

त्यस्तै, नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डले गत आर्थिक बर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । नबिल ब्यालेन्स फण्ड–२ ले ३५ प्रतिशत र नबिल ईक्विटी फण्डले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

त्यस्तै, एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि ५० ले पनि इकाई धनीहरुलाई लाभांश घोषणा गरेका छन् । एनएमबि हाईब्रिड फण्ड एल–१ ले २० प्रतिशत र एनएमबि ५० ले ३० प्रतिशत लाभांश दिने भएको हो ।

त्यस्तै, सानिमा इक्विटी फण्डले ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डले पनि इकाईधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

 


प्रतिक्रिया दिनुहोस्