वोमी र सूर्योदयलाई मर्ज हुन राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति, « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

वोमी र सूर्योदयलाई मर्ज हुन राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति,



काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्याेदय लघुवित्तलाई सैद्धान्तिक स्वीकृति दिएको छ । वोमी र सूर्योदय लघुवित्त एकआपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको हो । योसँगै दुई लघुवित्तको मर्जर प्रक्रिया अघि बढेको छ ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते गाभिने सम्झौतामा हस्ताक्षर भएको थियो । संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाईं, र शिवप्रसाद मिश्र तथा सूर्योदयको तर्फबाट अनन्तकुमार श्रेष्ठ, गुडाखर सापकोटा र एकबहादुर गोदार रहने भएका छन् । दुबै संस्था मर्ज हुनेभएपछि दुबै लघुवित्तको शेयर कारोबार रोक्का छ ।

सम्झौताअनुसार हाल सूर्योदयका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् भने हाल वोमीका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।

त्यस्तै, दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डीडीए) अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहनेछ । हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा छ ।

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्