नेप्से र धितोपत्र बोर्डको प्रमुख नियुक्तिमा भागबण्डा, सेबोन कांग्रेसलाई, नेप्सेमा माओबादी « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

नेप्से र धितोपत्र बोर्डको प्रमुख नियुक्तिमा भागबण्डा, सेबोन कांग्रेसलाई, नेप्सेमा माओबादी



काठमाडौं । सरकारमा सहभागि गठबन्धन दलबीच भागबण्डा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने प्रकृया अघि बढेको छ । खुला प्रतिस्पर्धाबाटै नियुक्ति अघि बढाएको देखिए पनि यी दुई संवेदनशील संस्थाको नेतृत्व दलीय बाँडफाँटमा परिसकेको स्रोतको भर्ना छ ।

यी दुई निकायमा आफ्ना मानिसको नियुक्ति गराउन दलनिकट स्वार्थ समूहले चलखेल बढाएका हुन् । चुनाव नजिकिँदै जाँदा आर्थिक संकलनमा जोड दिइरहेका दलहरूले स्वार्थ समूहकै योजनाअनुसार नियुक्तिमा भाग लगाएका छन् । धितोपत्र बोर्डको अध्यक्ष सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसको कोटामा परेको छ । त्यस्तै नेप्सेका सीईओ गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) को भागमा पर्ने गरी भागबण्डा भएको स्रोतको भनाइ छ ।

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले कात्तिक ११ गते १५ दिन अवधिभित्र शिलबन्दी आवेदन माग्दै सूचना निकालिसकेको छ । आवेदकले कात्तिक २५ गतेभित्र आवेदन बुझाइसक्नु पर्नेछ । धितोपत्र बोर्ड नेपालको पूँजीबजार नियामक हो ।

यसअघि धितोपत्र बोर्डमा हुने नियुक्ति नेकपा (एकीकृत समाजवादी) को भागमा पर्ने चर्चा पनि चलेको थियो । भागबण्डा मिलाउँदै जाँदा पछिल्लो पटक कांग्रेस कोटाबाट अध्यक्ष ल्याउने गरी प्रकृया अघि बढाइएको छ । भागवण्डा भइसकेकाले धितोपत्र बोर्ड अध्यक्षमा कांग्रेस निकट समूहले मात्र लबिइङ गरिरहेका छन् ।

अहिले बोर्डका कार्यकारी निर्देशक निरज गिरि, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, अर्का पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, हाल कार्यकारी निर्देशक रहेका गुणाकर भट्ट र नेप्सेका पूर्व महाप्रबन्धक सीताराम थपलिया कांग्रेस कोटा भित्रबाट बोर्ड अध्यक्ष बन्ने दौडधुपमा छन् । यसैगरी, सर्वोत्तम शिवम् सिमेन्टको इन्साइडर कारोबारमा मुछिएपछि नेप्सेको सीईओबाट राजीनामा दिएका चन्द्रसिंह साउदले पनि नियुक्ति अपेक्षा राखेको स्रोत बताउँछ ।

नेप्सेमा सीईओ नियुक्त गर्न मन्त्रालयले कात्तिक १३ गते सूचना निकालेर आवेदन मागेको छ । माओवादीभित्र नेप्सेको सीईओ बन्ने योग् मान्छेको अभाव नै छ । यही कारण अहिले बीमा समितिका पुर्व अध्यक्ष चिरञ्जीवि चापागाईँमात्रै यस पदका लागि तत्पर छन् ।


प्रतिक्रिया दिनुहोस्