इसेवालाई टक्कर दिन मर्ज हुँदै आइएमई पे र खल्ती, पुरा होला चन्द्र ढकालको ‘नम्बर वान’ बनाउने अभिलाषा ?

काठमाडौं । झन्डै डेढ दशकदेखि नेपाली डिजिटल वालेटको बजारमा राज गरिरहेको एफ–वान सफ्टको कम्पनी इसेवासँग प्रतिस्पर्धामा उत्रने गरि दुई कम्पनीहरु गाभिने भएका छन् ।
दुई वालेट कम्पनी आइएमई पे र खल्ती मर्ज हुने भएका हुन् । एकातिर वालेटको बजार खुम्चँदै गएको र अर्कातिर प्रतिस्पर्धा बढेका बेला उनीहरु गाभिने निष्कर्षमा पुगेका छन् ।
ग्लोबल आइएमई बैंकले संचालन गरेको आइएमई पे अब इसेवालाई टक्कर दिन खल्तीसँग गाभिने भएको हो ।
इसेवाले कयौं सरकारी र गैरसरकारी भुक्तानीहरुमा एकाधिकार सृजना गरेपछि अरु वालेटहरु ‘चल्नै नसक्ने’ हालत तर्फ अग्रसर थिए ।
यस्तो बेला सिनेमा, एयरलाइसन्स, यातायात र इभेन्टहरुसँग बलियो साझेदारी बढाइरहेको खल्तीसँग जोडिएर जान सके वालेट बजारमा प्रतिस्पर्धी कम्पनी बन्ने अपेक्षा आइएमई समूहको छ ।
बैंकिङ्ग मात्र होइन, समग्र वित्तीय क्षेत्रको नेतृत्व गर्ने होडमा अघि बढेको आइएमई समूहले मर्जरकै माध्यमबाट स्थापित कम्पनीहरुलाई टक्कर दिने कोशिस जारी राखेको छ ।
आइएमई पे र खल्ती मर्जरमा जान सैद्धान्तिक सहमति जुटेपनि सेयर अनुपात भने टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ । यद्यपि, मर्जरपछि कम्पनीको नाम भने ‘आइएमई खल्ती’ रहने छ ।
हाल आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ भने खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ ।