हिमालयन बैंकले पनि घटायो कर्जाको व्याजदर, ८.४९ मै घर गाडी कर्जा पाइने
काठमाडौं । हिमालयन बैंकले पनि कर्जाको व्याजदर घटाएको छ । बैंककले आज आइतबार एक सूचना जारी गरी कर्जाको व्याजदर घटाएको जनाएको छ । हिमालयन बैंक लिमिटेडले ८.४९% व्याज दरमा विभिन्न छ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एस.एम.इ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् । त्यसै गरी, ९.८९% व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् ।
त्यस्तै बंैकले १०.३९% व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ। दश वर्षको अबधि सम्मका लागि पाइने एस.एम.इ कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन्। बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ। ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन्। शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बंैकले लिएको छ ।
विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहने छ र यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनु हुनेछ। ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरु मार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नु हुनेछ। हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट बंैकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।










