हकप्रदमा निश्कासनमा राष्ट्र बैंकको कैँची
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई पनि हकप्रदमा कडाइ गर्ने भएको छ ।
राष्ट्र बैंकले लघुवित्तलाई मात्रै नभएर अब बैंकहरुलाई पनि हकप्रद निष्काशनमा कडाइ गर्ने भएको हो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित हकप्रद सेयरलाई अस्वीकृत गरेको राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा मात्रै बैंकहरुले हकप्रद अनुमति पाउने बताएको छ ।
‘कुनै पनि संस्थालाई मन लाग्दैमा राष्ट्र बैंकले हकप्रद निष्कासन गर्न अनुमति दिँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘राष्ट्र बैंकले हकप्रद निष्कासनका लागि आवश्यकता र औचित्य हेर्छ ।’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि अबको दिनमा हकप्रद निरुत्साहित गर्ने ती अधिकारीको दाबी छ ।
‘हामीले हकप्रद निष्कासन अनुमति माग गर्ने बैंकहरुका लागि पुँजीकोष हेर्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । पुँजीकोष धान्न नसक्ने अवस्थामा राष्ट्र बैंकले हकप्रद निष्काशन अनुमति दिने हो ? भन्ने प्रश्नमा ती अधिकारीले भने, ‘पुँजीकोषले नै नधान्ने गरी व्यवसाय विस्तार गर्न पाइन्छ, यदि बैंक तथा वित्तीय संस्थाले त्यसरी व्यवसाय विस्तार गर्छन् तिनीहरुलाई कडा निगरानी गर्छौं ।’
हकप्रद अस्वीकृत भएको साइन रेसुङ्गा डेभलमपेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल बैंकले बोनस सेयरबाटै पुँजी बढाएर जाने बताउँछन् । बुटवल केन्द्रीय कार्यलय रहेर सञ्चालनमा रहेको १० जिल्ले विकास बैंकले गत आर्थिक वर्षमा प्रदेश ६ मा केन्द्रीय कार्यालय रहेका दुईवटा साना क्षेत्रीय विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरको विकास बैंक बनेको थियो ।
‘५ वटा साना विकास बैंक मिलेर राष्ट्रिय स्तरको विकास बैंकका रुपमा गत आर्थिक वर्षबाट कारोबार सुरु गरेका थियौं, राष्ट्रियस्तरमा स्तरोन्नति भएसँगै आक्रामक बजार विस्तारका लागि हकप्रद निष्काशन गर्न खोजेको थियौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बाह्रखरीसँग भने, ‘हकप्रद अस्वीकृत गरे पनि बोनस स्वीकृत भएको छ, बोनसपछि हाम्रो पुँजी तीन अर्बमाथि हुन्छ भने, गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएमा करिब साढे ३ अर्ब पुँजी पुग्छ ।’
बैंकको पुँजीकोष १५ प्रतिशतभन्दा माथि रहेकाले व्यवसाय विस्तारमा कुनै समस्या नपर्ने पौडेलको दाबी छ । बैंक अन्य बैंकसँग मर्जमा जानेभन्दा पनि अन्य बैंकलाई लिएर प्रदेश ५ मा बलियो उपस्थितिसहितको राष्ट्रियस्तरको विकास बैंकका रुपमा अगाडि लैजाने उनले बताए । सेयर बजार










