१ कार्तिक २०८३, आइतबार

राष्ट्र बैंकको राहतमुखी पुनर्कर्जा कार्यान्वयन हुँदै



काठमाडौं । साना तथा मझौला उद्यम व्यवसायीहरुलाई महामारीका बेलामा समस्या नपरोस भनि मौद्रिक नीतिमार्फत राहत प्याकेजको घोषणा गरेको राष्ट्र बैंकले कार्यान्वयनमा लैजाने भएको छ । राष्ट्र बैंकले पुनर्कर्जा सुविधामार्फत दिइने यस्तो राहत कार्यक्रमले ऋणीलाई ५ प्रतिशतमात्रै ब्याज तिर्नसक्ने बताएको थियो ।

समस्यामा परेका ऋणीलाई आवश्यकता अनुसार पुनकर्जा माग गर्न सबै बैंकहरुलाई आग्रह गरेपछि पुनर्कर्जा पाउन योग्य मानिएका ऋणीले अब आफूले ऋण लिएको बैंकमा निवेदन दिनु पर्नेछ । त्यही निवेदनको आधारमा बैंकहरूले राष्ट्र बैंकसँग पुनर्कर्जा माग गर्न पाउनेछन् । केन्द्रीय बैंकले आगामी असोज १४ भित्र एकमुष्ट पुनर्कर्जा माग गर्न बैंकलाई सोमबार निर्देशन दिएको छ ।

तर, कुनै पनि बैंकले आफ्नो प्राथमिक पुँजी (सेयर पुँजी र जगेडा कोष) को एक चौथाइभन्दा धेरै पुनर्कर्जा माग गर्न भने पाउने छैनन्। कर्जा भुक्तानी अवधि कम्तीमा एक वर्ष बाँकी नै भएका ऋणमा मात्र पुनर्कर्जा सुविधा पाइनेछ। धेरै बैंकबाट ऋण लिएका ऋणीले कुनै एउटा बैंकमार्फत मात्रै पुनर्कर्जा माग गर्न पाउनेछन् ।