३० श्रावण २०८३, शनिबार

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने, निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँ पुग्ने



काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई गाभ्ने भएको छ । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालय बुटवलमा रहेको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई गाभ्ने भएको हो । कार्तिक १ गते तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीसंग प्रारम्भिक सम्झौता भएको छ ।

सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्तिक २ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुने छ । भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुने छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुने छ ।

हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।