नेपाल एसबिआई बैंकको अधिकांश सूचक घटे, नाफा ५४ प्रतिशत कमी
काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षकोभन्दा यस बर्ष २३ करोड ६७ लाख रुपैयाँ अर्थात ५४.१४ प्रतिशत घटेको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २ करोड ५८ लाख ३० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४१ करोड रुपैयाँ थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ४३ करोड ७३ लाख रुपैयाँ घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ३३ करोड ८६ लाख रुपैयाँ घटेर २८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको निक्षेप १ खर्ब १० अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ खर्ब १२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कर्जा ८९ अर्ब ६१ करोडबाट घटेर ८६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २० रुपैयाँ ७० पैसा रहेकोमा यस बर्ष घटेर ८ रुपैयाँ ९५ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.९५ गुणा रहेको छ ।













