कोरोनाको कारण रोजगारी गुमेकाको व्यवस्थापन गर्न सरकार लागि रहेको छः अर्थमन्त्री पौडेल
काठमाडौंं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोना भाइरसको कारण रोजगारी गुमेकाहरुको व्यवस्थापन गर्न लागि परेको बताएका छन् । शनिबार राजधानीमा आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन् त्यसबाट अब हामीले कसरी बाहिर निस्किन सक्छौँ र पहिलाकै अवस्थामा फर्कन सक्छौँ भन्ने चुनौतीपुर्ण प्रश्न खडा भएको समेत बताए । महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको उनको भनाई छ ।
यस्तै उनले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेको बताए । यसका समाधानका लागि सरकार हात दिन मात्र होईन साथ दिन पनि तयार रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।













