मर्चेन्ट बैंकर संघका नवनिर्वाचित कार्यसमितिले भेट्यो नेप्सेका सीईओसंग
काठमाडौं । मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिले नेपाल स्टक एक्चेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसंग भेट गरेको छ । संघका पदाधिकारीले पुँजी बजारका विकासमा नेप्सेसंग सहयोग मागेका थिए ।
बिहीबार मर्चेन्ट बैंकर्स एसोसिएसनका नवनिर्वाचित अध्यक्ष मेखबहादुर थापासहितको पदाधिकारीले नेप्सेका सीईओसंग टिएमएस लगइन र डेरिभेटीभ स्टुमेन्टको विकासमा लाग्न आवश्यक सहयोग गर्न आग्रह गरेको छ । नेप्सेको उच्च व्यवस्थापनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष मेखबहादुर थापासहित कार्यसमितिका पदाधिकारीसँग पुस ९ गते बिहीबार भएको भेटघाटमा साउदले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
भेटघाटमा नेप्से र एसोसिएसनबीच पुँजी बजारका विभिन्न पक्षमा सहकार्य र समन्वय गर्ने विषयमा छलफल भएको थियो । पुँजी बजार सम्बद्ध नीतिगत र प्राविधिक विषयमा छलफललाई निरन्तरता दिन संयुक्त मञ्च निर्माण गर्ने सहमति समेत भेटघाटमा भएको छ ।
नेप्से कार्यालयमा भएको भेटघाटमा एसोसिएसनका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिना, उपाध्यक्ष विजयलाल श्रेष्ठ, महासचिव पारसमणि ढकाल, कोषाध्यक्ष रमेन्द्र रायमाझी, सदस्यद्वय दिपेश वैद्य तथा नारायणप्रसाद घिमिरे र नेप्सेका कामु प्रवन्धक निरन्जन फुयालको उपस्थिति थियो ।













