२९ श्रावण २०८३, शुक्रबार

बैंक-वित्तीय संस्थामा अख्तियारको डण्डा, राष्ट्रिय बाणिज्य बैंकका ८ कर्मचारीमाथि साढे ९ करोडको मुद्दा



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अख्तियार प्रवेश गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा भ्रष्ट्राचारका घटनाहरु बढ्दै गएपछि अख्तियारमा मुद्धा दर्ता बढ्दै गएका हुन् ।

गलत कागजात बनाएर बैंक तथा वित्तीय संस्थालाई ठगी गरेको उदाहरण त बेला बेलामा सार्वजनिक नै भएका थिए । सोही क्रममा बैंकका कर्मचारीसमेतको मिलेमतोमा किर्ते कागजात बनाएर ठगी गर्ने गिरोह नै सक्रिय रहेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर खुलासा भएको छ । बैंकका कर्मचारी र धितो मूल्यांकनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात किर्ते गरी ऋणप्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उप-प्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर केके विरुद्ध जनही १ करोड २५ लाख रूपैयाँ र सकिना जसगढविरूद्ध ७५ लाख रूपैयाँ बराबरको भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

उनीहरू विरुद्ध समान बिगो कायम गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी उक्त कागजात बैंक शाखामा पेश गरी कर्जा लिने कार्य गैरकानूनी रहेको आयोगको ठहर छ ।

बाँके नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याकनकर्तासमेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋणप्रवाह गरेको पाइएको छ । गलत काम गरी ऋणप्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निम्न व्यक्तिहरूले किर्ते कागजहरूको आधारमा किर्ते धितो मूल्यांकन गरी उक्त कागजातहरू राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरेको पाइएको छ ।

आयोगले गैरकानूनी लाभ वा हानी पुर्याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानी–नोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टी हुन आएको हुँदा देहायबमोजिमको व्यक्तिहरूको हकमा देहायबमोजिमको कसुरमा सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

केही समयअघि मात्रै महालक्ष्मी विकास बैंकमा ७ करोड घोटला काण्डका फरार मुख्य अभियुक्त बैंकका कर्मचारी समेत रहेका सुन जाँचकी पद्म ज्ञवाली पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईविको एक टोलीले १ महिनादेखी फरार रहेका ज्ञवालीलाई गत सोमबार साँझ पक्राउ गरेको थियो । महालक्ष्मी विकास बैंकको ललितपुरको कुमारीपाटी शाखाबाट ५ किलो सुन राखेर १७ किलो सुन राखेको कागजात बनाइ ६ करोड ९३ लाख कर्जा लगेका थिए ।