डिएफआइडीको सहयोगमा राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण
काठमाडौं । नेपाल राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआइडीको सहयोगमा एक्सेस टु फाइनान्सअन्तर्गतको यूकेएड सक्षमसँगको सहकार्यमा नेपालमा आरटिजिएस सिस्टम लागू हुँदै आएको छ । आज बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम) तथा मोडुलर डाटा सेन्टर औपचारिक रुपमा राष्ट्र बैंकले लिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, नेपालस्थित वेलायती राजदूतावासका प्रतिनिधि रोब क्लार्क, यूकेएड सक्षमका प्रतिनिधि तथा राष्ट्र बैंकका पदाधिकारीहरूको उपस्थिति थियो । युकेएड सक्षमका तर्फबाट नेतृत्व गरेका निर्मल दाहालले आरटिजिएस तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त धारणा राखेका थिए ।
भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटिजिएस सिस्टम मार्फत हुने कारोवार हाल मासिक औसत १३ खर्ब बराबर रहेको जानकारी दिए । यो सिस्टममा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको उनले बताए ।












