२९ श्रावण २०८३, शुक्रबार

माछापुच्छ्रेको नाफामा २.३२ प्रतिशत दबाब, निक्षेप बढेर १ खर्ब १८ अर्ब २३ करोड पुग्यो



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा यस बर्ष बैंकले २.३२ प्रतिशत कम नाफा आर्जन गरेको हो ।

त्यस्तै, बैंकको यस अवधिमा वितरण योग्य नाफा ४५ करोड २२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ र सञ्चालन मुनाफा ८ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको चुक्त पूँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ५५ करोड ३८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ९८ करोड १२ लाख रुपैयाँ थियो ।

बैंकको निक्षेप १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा रहेकोमा घटेर १७ रुपैयाँ ७३ पैसा कायम छ ।