९ कार्तिक २०८३, सोमबार

त्रिशूली बाढीले निजी सम्पत्तिमा मात्रै झण्डै ८० अर्बको क्षति, नुवाकोटमा देखियो सबैभन्दा ठूलो असर



काठमाडाैँ । गत भदौ १० गते रसुवा-भोटेकोशी क्षेत्रबाट आएको विनासकारी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको विषयमा राष्ट्रिय योजना आयोगले विस्तृत विवरण सार्वजनिक गरेकाे छ।

आयोगले तयार पारेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक नतिजा अनुसार बाढीका कारण नागरिकको घर, जग्गा र व्यापारिक प्रतिष्ठानमा करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ ।

सडक, जलविद्युत् जस्ता ठूला पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा पुगेको क्षतिको विवरण भने यसमा समावेश गरिएको छैन। बाढीबाट कुल क्षति भएका संरचनामध्ये ठूलो हिस्सा घरपरिवारको सम्पत्तिकै रहेको आयोगले बताएकाे छ ।

सार्वजनिक गरिएको प्रारम्भिक तथ्यांक अनुसार कुल क्षतिको करिब ८८ प्रतिशत हिस्सा आम नागरिकको घरपरिवारतर्फ केन्द्रित रहेको कुरा सर्वेक्षणले देखाएकाे छ। यस अन्तर्गत घरपरिवारको ६९ अर्ब ५७ करोड रुपैयाँको क्षति भएको छ भने व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँको नोक्सानी पुगेको प्रतिवेदनमा उल्लेख छ।

बाढीले प्रभावित नागरिकका घर, जग्गा, बालीनाली, पशुपन्छी, सवारीसाधनदेखि घरायसी प्रयोगका सामानहरूमा समेत भारी क्षति पुर्‍याएको देखिएकाेछ। आर्थिक रूपमा सबैभन्दा ठूलो मार जग्गा जमिनमा परेको देखिन्छ, जहाँ ३००० भन्दा बढी परिवारको ५०० हेक्टरभन्दा बढी जमिन बाढीले नष्ट पारे।

यसबाट मात्रै ३५ अर्बभन्दा बढीको क्षति भएको छ भने क्षतिग्रस्त भवन संरचना र निर्माण लागत जोड्‍दा थप ठूलो आर्थिक नोक्सानी हुन पुगेको अधिकारीहरूले बताएका छन्। यसबाहेक नगद, बहुमूल्य वस्तु, स्थायी तथा अस्थायी घरायसी सामान र सवारीसाधनमा समेत अर्बौंको क्षति पुगेको कुरा तथ्यांकमा भनिएकाे छ ।

सरकारले बाढीको हानि–नोक्सानीको विस्तृत मूल्यांकन गर्न मन्त्रिपरिषद्को निर्णयमार्फत विशेष टोली परिचालन गरेकाे थियाे। आयोगले विभिन्न सरकारी निकायका कर्मचारीहरू खटाएर प्रभावित क्षेत्रमा विस्तृत तथ्यांक संकलन गरेकाे हाे।

यस सर्वेक्षणको नतिजा अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका १५ वटा स्थानीय तहका हजारौं परिवार विपद्को चपेटामा परेकाे देिखएकाे छ। बाढीका कारण कुल ६ हजार ८ सय १७ घरपरिवार र १६ सयभन्दा बढी व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

यस विपद्ले ३२ हजारभन्दा बढी मानिसलाई प्रभावित बनाएको छ, जसमा पुरुष र महिलाको संख्या लगभग समान रहेको प्रतिवेदनमा उल्लेख छ। जिल्लागत रूपमा हेर्दा नुवाकोट जिल्लामा सबैभन्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ जहाँ करिब १८ हजार मानिस प्रभावित हुन पुगेका छन्। त्यसपछि रसुवा, धादिङ र गोरखामा पनि बाढीले ठूलो जनधनको क्षति गराएको छ ।

बाढीले हजारौं घरधनीका भवन संरचनाहरू पूर्ण वा आंशिक रूपमा नष्ट पारेकाे थियाे । सर्वेक्षणमा समेटिएका धेरैजसो संरचनाहरू फेरि प्रयोग गर्नै नसक्ने गरी क्षतिग्रस्त भएका छन् वा माटो तथा लेदोले पुरिएका छन्। केही घरहरू मात्र मर्मत गरेर बस्न मिल्ने अवस्थामा रहेका छन् भने अधिकांश संरचनाहरू पूर्ण रूपमा भत्किएका छन्।

व्यावसायिक क्षेत्रतर्फ पनि थोक तथा खुद्रा व्यापारीहरू सबैभन्दा बढी मारमा परेकाे प्रतिवेदनमा भनिएकाे छ । यसबाहेक आवास तथा खाद्य सेवा, कृषि तथा मत्स्यपालन क्षेत्रका प्रतिष्ठानहरूले पनि ठूलो क्षति बेहोरेका छन्। बाढीले ठूला तथा साना पशुहरू, पन्छीहरू र माछापालनलाई समेत पूर्ण रूपमा नष्ट गरेका कारण प्रभावित क्षेत्रका बासिन्दाहरूको जीविकोपार्जन गम्भीर संकटमा परेको अध्ययनले औंल्याएकाे छ।