२९ श्रावण २०८३, शुक्रबार

साढे १६ प्रतिशतले घट्यो कृषि विकास बैंकको नाफा, चुक्ता पूँजी १६ अर्ब ४२ करोड



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको १६.४४ प्रतिशत कम नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड १५ लाख रुपैयाँ घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ५१ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ ।

त्यस्तै, यस अवधिमा बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ, जगेडा कोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड रुपैयाँ, जगेडा कोषमा ११ अर्ब २० करोड ८२ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब २७ करोड ३४ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यस अवधिमा प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८२ पैसा रहेको यस शर्ष घटेर २१ रुपैयाँ ९ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर खुद मूल्य २१८ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३३ गुणा रहेको छ ।