२९ श्रावण २०८३, शुक्रबार

एभरेष्ट बैंकको निक्षेप संकलन १ खर्ब ५० अर्ब, खुद नाफा कति ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा यस बर्ष बैंकले ३६.२९ प्रतिशत कम नाफा आर्जन गरेको हो । त्यस्तै, यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १ करोड १७ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७८ करोड ३० लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिमा बैंकको चुक्त पूँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ८६ करोड ३३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब ९ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ७९ करोड रुपैयाँ थियो ।

यस अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३५ रुपैयाँ ४८ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर २१ रुपैयाँ ५३ पैसा रहेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.१२ गुणा रहेको छ ।